Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

के बढ्दैछन् नेपाली फिल्ममा दर्शक ?

२०७७ असार ४ गते ७:४२ by सामीप्यराज तिमल्सेना

पछिल्ला सालमा कमाउने फिल्मको व्यापार ज्यामितिय रुपमा बढेको छ । हिजो सय दिन लगाएर कमाउने पैसा केही नेपाली फिल्मले दुई तीन हप्तामै उठाउने गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज, ‘कबड्डी’ सिरिज आदि फिल्मको व्यापारले नेपाली फिल्मको बजारको आयतनलाई ५ करोड हाराहारीबाट तन्काएर एकै पटक तन्काएर १५÷२० करोडतिर पुर्याउन लागेका छन् ।
तर, यि फिल्मको सफलता आकस्मिक भने होइन । यो सफलता नेपाली फिल्मले दर्शकमाझ छाड्दै गएको प्रभावको उपलब्धि हो । अर्थात् नेपालमा पनि राम्रो फिल्म बन्छन् है भन्ने प्रभाव पार्न सफल भएपछि यो उपलब्धि हासिल गर्न सकिएको हो ।

नेपाली फिल्मले यो उपलब्धि हासिल गर्नुका पछाडि थुप्रै कारणहरु छन् । युवापुस्ताका फिल्मकर्मीको आगमन, फिल्म मेकिङमा आएको सुधार, कथा र न्यारेटिभमा आएको परिवर्तन र एन्टि इन्डियन सेन्टिमेन्ट आदि कारणले गर्दा दर्शकहरु नेपाली फिल्मप्रति आकर्षित हुँदै आएका हुन् ।

नेपालमा ३ करोड हाराहारीको जनसंख्या छ । जसमध्येको ०.०३ प्रतिशतले मात्र फिल्म हेर्ने गरेको तथ्यांक छ । नेपालको अधिकांश भूभाग गाउँ रहेको र अर्थतन्त्रको मेरुदण्ड कृषिमा आश्रित रहेका कारण चाहेर पनि मनोरन्जन धेरैको प्राथमिकता भित्र पर्दैन । अझ ग्रामिण इलाकामा हल नहुने र भएका हल पनि गुणस्तरीय नभएका कारण गाउँ गाउँले नै भरिएको नेपालमा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्या न्युन छ । त्यसैले नेपाली फिल्म हेर्ने दर्शक सीमित नै छन् तर त्यसका बावजुद पनि पछिल्ला वर्षमा सब्सिस्टेन्स इकोनोमीलाई रेमिट्यान्स इकोनोमीले विस्थापित गर्न थालेपछि यसको प्रभाव फिल्ममा पनि पर्न गएको छ । देशका मुख्य सहरमा जनसंख्याको घनत्व र हलमै गएर फिल्म हेर्ने प्रवृत्तिको विकासले पनि नेपाली फिल्ममा दर्शकको भीड बढाउन भूमिका खेलेको छ । काठमाडौं बाहिर पनि मुख्य सहरमा खुल्न थालेका मल्टिप्लेक्स र तिनमा दर्शकको चापले यही संकेत गर्छ ।

प्रविधीमा आएको परिवर्तनले नेपाली फिल्मलाई स्तरीय बनाउन सबैभन्दा ठूलो भूमिका खेलेको छ । त्यसमा पनि खासगरि छायांकनमा आएको क्रान्तिले नेपाली दर्शकलाई विश्वका फिल्मको हाराहारीमा आनन्द दिन थालेको छ । आज बलिउडमा जुन क्यामराले फिल्म खिचिन्छ नेपालमा पनि सोही क्यामराले फिल्म खिचिन्छ । यो एउटा महत्वपूर्ण फ्याक्टर हो जसले नेपाली फिल्मको गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरि ब्याकग्राउन्ड म्युजिक, कलर करेक्सन, सम्पादन जस्ता प्राविधिक कुरामा आएको परिवर्तनले नेपाली फिल्मलाई विश्व सिनेमाको दाँजोमा पुर्याएका छन् ।

कथा र कथा भन्ने शैलीमा आएको परिवर्तन नेपाली फिल्ममा आएको सबैभन्दा ठूलो परिवर्तन हो । हिजोको दिनमा नेपाली फिल्म हिन्दी फिल्मको नक्कलमा अडिएको थियो । बलिउडमा जुन कथामा फिल्म बन्थे नेपालमा हुबहु जस्ताको तस्तै उतारेर फिल्म बनाउने चलन थियो । त्यसैले नेपाली फिल्मले दर्शकमा विश्वास गुमाएको अवस्था थियो । तर, आज नयाँ पुस्ताका फिल्मकर्मीले कथामात्र होइन, कथा भन्ने शैलीमा बलिउडलाई पछ्याउन छाडेका छन् । नेपाली फिल्मको आफ्नै दृश्यभाषा बन्ने क्रम बढेको छ जसले दर्शकलाई मुग्ध बनाउन थालेको छ । कबड्डी, पशुपतिप्रसाद, कालोपोथी, डाइङ क्यान्डल, छक्का पन्जा जस्ता आफ्नै कथामा बनेका फिल्मको सफलताले नेपाली फिल्मले ५० वर्षसम्म गुमाएको आत्मविश्वास बिस्तारै फर्काउँदै गइरहेका छन् । हार्डकोर कमर्सियल नभइकन पनि पशुपतिप्रसाद, कालोपोथी जस्ता फिल्मले प्राप्त गरेको कमर्सियल सक्सेस कथा र कथाभन्ने शैलीमा आएको परिवर्तनलाई दर्शकले आत्मसात गरेको परिणाम हो । हिजोका दिनमा वर्षौसम्म पनि आर्ट हाउस सिनेमा नबनेको अवस्था थियो । तर, आज सयको संख्यामा रिलिज हुने नेपाली फिल्म उद्योगमा १० देखि १५ को संख्यामा यस्ता आर्ट हाउस सिनेमा बनिरहेका छन् । यी मध्ये केहीले भलै व्यवसायिक सफलता प्राप्त गर्दैनन् तर पनि तिनले नेपाली फिल्म उद्योग पनि डायनामिक हुनुपर्छ है भन्ने मान्यता राख्ने दर्शकलाई इंगेज गरिराख्न ठूलो भूमिका खेलिरहेका छन् ।

स्टार सिस्टम व्यवसायिक सिनेमाको मुट हो । संसारकै फिल्म उद्योगमा अपवादमा बाहेक उद्योगको विकासमा स्टारको ठूलो भूमिका हुन्छ । नयाँ पुस्ताका कलाकारले स्टारडम क्रिएट गर्दा नेपाली फिल्मले नयाँ जुनी पाएको छ । अनमोल केसी, प्रदिप खड्का, पल शाह, साम्राज्ञीराज्य लक्ष्मी शाह आदिको स्टारडमले पनि हलमा नेपाली फिल्मको दर्शक बढाउन ठूलो रोल प्ले गरेका छन् ।

हिजोको दिनमा राजेश हमालले एउटै गेटअपमा एउटै शैलीको अभिनय गरेर दर्शकलाई धेरथोर इंगेज गरे । तर, धेरै खाएपछि चिनी पनि तितो हुन्छ । राजेश हमालको पुस्ताले प्रयोग गर्न मान्दै मानेन, फलतः एक समय यस्तो आयो कि दर्शक नेपाली फिल्मको नामै सुन्न चाहान्नथे । बिराज भट्ट र निखिल उप्रेतिसम्मले पनि दर्शक रुचिको नाममा अर्थ न बर्थका फिल्म खेले । क्लासका लागि भन्दा पनि मासका लागि फिल्म बनाउने सोचले नेपाली फिल्मको अवस्था खस्कँदै गयो । हुँदाहुँदा नेपाली फिल्म हेर्ने दर्शक हलसम्म जानै नमान्ने अवस्था आयो । यही समयमा देशमा सुरु भएको माओवादी जनयुद्धले बाँकी क्षति गर्यो । गाउँका हल बन्द भए भने सहरमा मानिस साँझ नपर्दै घरभित्र पस्न थाले । युद्धले सिर्जना गर्ने दुःखको मनोविज्ञानले मानिसमा मनोरन्जन गर्ने सोचको साटो नैराश्यताको सिर्जना गर्यो । फलत २०६८ सालको मध्यसम्ममा नेपाली फिल्मको अवस्था जर्जर भयो । उद्योगमा संकटकाल लगाउने र राज्यले नेपाली फिल्मको विकासमा हस्तक्षेप गर्ने माग उठ्न थाले । तर, यही संकटका बीच रिलिज भएको लुटले नेपाली फिल्ममा सन्जिवनीको काम गर्यो । यसले संकटापन्न रहेको नेपाली फिल्म उद्योगलाई मात्र बौराएन, नयाँ पुस्ताका फिल्मकर्मीलाई फिल्ममेकिङमा पनि आकर्षित गर्यो । त्यसैको परिणाम हो आज नयाँ पुस्ताका फिल्मकर्मी र उनीहरुले भित्र्याएका कलाकारको विगविगी छ । आजभोलि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने जस्ता कलाकारले नेपाली फिल्ममा अभिनयको लिगेसी धानेका छन् । राजेश हमाल, निखिल उप्रेति र विराज भट्टले उस्तै फिल्म र उस्तै चरित्र निर्वाह गरेर भड्काएका दर्शक बिस्तारै नेपाली फिल्मको फेवरमा आउन थालेका छन् ।

साहित्य, संगीत वा सिनेमाको रुचीमा देशको मनोवज्ञिानको पनि ठूलो भूमिका हुन्छ । देशको मनोविज्ञान जस्तो छ, सिर्जना पनि उस्तै उस्तै हुन्छन् । साहित्यमा पप आख्यानको बढ्दो बजार र संगीतमा रक्सीले मातेका गीतको बजारले यही संकेत गर्छन् अर्थात् देशको मुड बिस्तारै स्याडबाट ह्याप्पी हुँदैछ । देशमा कमेडी फिल्मको बढ्दो लोकप्रियताले पनि यही बताउँछ, देश बिस्तारै दुःख बिर्सेर हाँस्ने प्रयत्न गर्दैछ । युद्ध सकिएसँगै इन्फेरिटी कम्प्लेक्समा बाँचेको नेपाली समाज सुपेरियोरिटी कम्प्लेक्समा प्रवेश गरेको छ । योसँग आफ्नो देशको केही पनि मन नपराउने समाज बिस्तारै देशप्रेमी बन्न थालेको छ । स्वदेशी उत्पादनमा गर्व गर्न थालेको छ । चाहे त्यो जुत्ता होस् वा सिनेमा । देशमा नजानिँदो गरी राष्ट्र प्रेमको मौसम चलेको छ । हिजाको दिनमा नेपालीलाई जे पनि विदेशको मन पथ्र्यो तर आज त्यो अवस्थामा परिवर्तन आइरहेको छ । कमी कमजोरीका बावजुद नेपाली चिज नै मन पर्न थालेका छन् । नेपाली सिनेमाले आम नेपालीको यो मनोविज्ञानको फाइदा पाउन थालेका छन् ।