Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

महामारीपछिको मनोरञ्जन

२०७७ असार ४ गते ११:१८ by सामीप्य

खजुरको रुख चमेराको मुख्य बासस्थान हो । चीनमा त्यो रुखको व्यापक फँडानी भइरहेको छ । वासस्थानको अभावमा मुखमा केरा च्यापेर हिडेको चमेराले त्यो केरा सुँगुरको खोरमा झार्न पुग्छ । एउटा सुँगुरले त्यो केरा खान्छ तर त्यो सुँगुर पनि बेचिएर हङकङको रेष्टुरेन्टमा पुग्छ । काटकुट पारेर पकाउने तयारी हुन्छ । तर, यही क्रममा रेष्टुरेन्टमा एउटा महिला आएपछि सेफ त्यो सुँगुरको मासु चलाएको हात नधोइकन ती महिलासँग हात मिलाउन पुग्छ । व्यापारिक प्रयोजनाका लागि हङकङ आएकी ति महिला अमेरिकाको सिकागो हुँदै आफ्नो घर मिनियापोलिस पुग्छिन् । घर आए लगत्तै उनमा सुख्खा खोकी लाग्ने र ज्वरोको लक्षण देखिन्छ । अस्पतालमा पुर्याइन्छ तर रोगको पहिचान नहुँदै उनको मृत्यु हुन्छ । उनको अन्त्येष्टि सकेर घर पुग्दासम्म उनको छोराको पनि मृत्यु भइसकेको हुन्छ । तर, रुघा खोकीले मान्छे मर्ने क्रम यहीं रोकिँदैन । विश्वभरका २ करोड मानिस रुघा खोकीको यो प्रकोपबाट आक्रान्त हुन्छन् । कैयौंले ज्यान गुमाउँछन् ।

अहिलेको अवस्थासँग दुरुस्त मिल्ने यो कथा हो सन् २०११ मा रिलिज भएको फिल्म ‘कन्टाजियन’को । स्टिभन सोडेरवर्गको निर्देशन रहेको यो फिल्म आजका दिनमा सर्वाधिक खोजिने फिल्मको सूचिमा रहेको छ । फिल्मले आजभन्दा ९ वर्ष अघि नै चीनबाट उब्जिएको भाइरस विश्वभर फैलने र यसले लाखौ मानिसको ज्यान लिने भविष्यवाणी गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ । नभन्दै फिल्मले भविष्यवाणी गरे झैं भाइरस चीनबाट मात्र फैलिएन फिल्ममा देखाए झैं यसको कारण पनि चमेरा नै भएकोमा धेरै वैज्ञानिक विश्वस्त छन् । कोरोना भाइरस (कोभिड १९) फैलिएको ठाउँ चीनको वुहान जंगली जनावर र पशुपंक्षिको व्यापारका लागि प्रख्यात ठाउँ मानिन्छ ।

‘कन्टाजियन’ महामारीको भविष्यवाणी गरेको मात्र आज महत्वपूर्ण भएको छैन यो यस्तो फिल्म थियो जसले संसारको एउटा गाउँको समस्या त्यहीँ गाउँको मात्र नभएर विश्वव्यापी बन्ने संकेत गरेको थियो । अनि हलिउडले आफ्ना कथालाई ग्लाबलाइज गरेको पनि यो सुरुवाती चरण थियो ।
ह्लिउडले लामो समय अमेरिकालाई केन्द्रमा राखेर ‘सिटी अन्डर थ्रेट’ को सूत्रमा सयौं फिल्म बनायो । त्यस्ता फिल्ममा भिलेनले अमेरिकाका कुनै सहरलाई अप्ठेरोमा पार्थे र गुनी हिरोले सहरलाई भिलेनको कुत्सित मनसायबाट सकुशल उद्धार गर्थे । तर, पछिल्ला वर्ष हलिउडमा रिलिज भएका ‘वल्र्ड वार जेड’, ‘ट्वान्टी एट डेज लेटर’, ‘आइ एम लेजेन्ड’, ‘नाइन्टी थ्री डेज’ जस्ता फिल्मले भाइरसको अस्तित्व र यसबाट सिर्जित रोगले विश्व नै छपक्क छोप्ने कथा पेश गरेका थिए ।
भ्mट्ट हेर्दा हुन नसक्ने जस्ता लागे पनि हलिउडले यस्ता कथामा फिल्म बनाउँदै मानव सभ्यताको संकटापन्न अस्तित्वलाई संकेत गरिरहेको थियो । असम्भव लाग्ने संकटबाट मानिसले मात्र विजय पाउनु सक्नु ति फिल्मको निचोड रहन्थ्यो । कोरोनाको महामारी टरेपछि हलिउडका फिल्ममा आउने सबैभन्दा ठूलो परिवर्तन सायद यही नै हुनेछ कि अब यस्तो संकट अमेरिकाको कुनै सहरमा मात्र सीमित हुनेछैन्, नेपालको गाउँसम्म पनि आइपुग्नेछ । हलिउडका हिरो मानव जातिको कल्याणका लागि नेपालका गाउँ गाउँ चहारेको देख्नु कुनै असम्भव घटना हुनेछैन ।

विश्वमा घटेका ठूला घटना सधैं हलिउड फिल्मका लागि मसला बन्ने गरेका छन् । हलिउडले ट्वीन टावर आक्रमणपछि अमेरिकामा आएको परिवर्तनलाई समेटेर सयभन्दा बढी फिल्म बनाएको छ भने अफगानिस्तान, इराकसँगको युद्धका बाछिटामाथि फिल्म बनाउने क्रम अझै रोकेको छैन । सुपरहिरोको दबदबा रहेको अहिलेको समयमा उनीहरुको महामारीको रुपमा टक्करको भिलेन भेटेका छन् । यसको असर केही दिनमै हलिउडले महामारीले उब्जाएको परिस्थिति माथि दर्जनौं फिल्म बनाउने छ ।

कोरानाका कारण संसारका फिल्म हल बन्द भएपछि मनोरञ्जनका लागि मानिससँग एउटै विकल्प बाँकी रहेको छ ‘अनलाइन स्ट्रिमिङ’ । कि नेटफ्लििक्स जस्तो फिल्मको विशाल संग्रह भएको स्ट्रिमिङ साइट सब्सक्राइब गर्ने कि भिडियो अन डिमान्डको भर पर्ने । कोरोनाका कारण मानिस घरभित्रै कैद भएपछि ‘इन्डी फिल्ममेकर’ मात्र हैन ठूल्ठूला स्टुडियो पनि यसको शरणमा जान बाध्य भएका छन् । युनिभर्सलले यही महिना रिलिज गर्न ठिक्क पारेका फिल्म ‘दि इन्भिजिबल म्यान’, ‘दि हन्ट’, ‘ट्रोल्स वल्र्ड वार’ अनलाइन साइट पिककमा रिलिज गर्ने निर्णय गरेको छ भने डिज्नेले पनि हलमा चल्दै गर्दा कोरोनाका कारण उत्रन बाध्य भएको ‘फ्रोजन २’ उसकै स्ट्रिमिङ साइट डिज्ने प्लसमा उपलब्ध गराउने घोषणा गरेको छ । यति मात्र होइन, आउँदो मेमा रिलिज हुन लागेको साइ—फाई फेन्टासी फिल्म ‘आर्टेमिज फउल’ हलमा नलगाई डिज्ने प्लसमा रिलिज गर्ने बताएको छ । डिज्ने र युनिभर्सको सिको गर्दै एचबिओले पनि स्टिमिङ साइट सुरु गर्दैछ भने एप्पलको एप्पल टिभी, क्युबी , बिबिसीको डिस्कभरी आदि अनलाइन साइट पनि धमाधम सार्वजनिक हुने क्रममा छन् । ।

कोराना विश्व भ्रमणमा निस्कनुअघि नै संसारभर अनलाइन स्ट्रिमिङ साइटको लोकप्रियता बढिरहेको थियो । तर, यस्ता स्ट्रिमिङ साइटले हलको व्यापारलाई असर गर्छन् कि गर्दैनन्? अझसम्म पनि बहसको विषय छ । धेरै वर्ष पहिले टेलिभिजनको उत्पादनपछि पनि यस्तै बहस चलेको थियो तर टेलिभिजनको लोकप्रियताले हलमा हुने व्यापारलाई कत्ति पनि असर गरेको थिएन । तर, अहिलेको लक डाउनले संसारभर नै स्ट्रिमिङ साइट सब्सक्राइब गर्ने संख्या अघिल्ला महिनाको तुलनामा १४ प्रतिशतले बढेको तथ्यांक छ । अहिलेको लक डाउनले सारा संसारलाई घाटा लाग्दा पनि कसैलाई फाइदा भएको छ भने ति अनलाइन स्ट्रिमिङ साइट नै हुन् । त्यसैले यो महामारीले समग्र कलालाई उपभोग गर्ने तरिकामा नै व्यापक फेरबदल ल्याउने निश्चित छ ।

महामारीले सिर्जना गरेका सामाजिक आर्थिक सम्बन्धलाई कथ्यमा उन्ने मामलामा बलिउडले हलिउड जत्तिको छेकछन्द ल्याएको छैन । तर, १ अर्ब ३० करोड जनसंख्या भएको भारत जुनसुकै माध्यमको मनोरञ्जनका लागि ठूलो बजार हो । अझ खास कुरा त्यहाँ सिनेमा हेर्न दर्शकमा उल्लेख्य वृद्धि भएको छ । गत साल मात्र त्यहाँ १३ वटा फिल्मले सय करोड बढीको व्यापार गरेका थिए । यही समयमा त्यहाँ ओटीटी (ओभर दि टप) प्लेटफर्मले पनि राम्रै संख्या दर्शक भेट्न थालेका छन् । तर, यो लक डाउनले ति प्लेटफर्ममा नयाँ दर्शकको ताँती लाग्नेछ । किनकि भारतीय फिल्मका दर्शक भारतका जनता मात्र छैनन्, नेपाल जस्तो एसियाका धेरै देश पनि छन् जसले भारतीय फिल्मलाई गुरु मान्छन् । धेरै देशले भारतीय फिल्मलाई हलमा प्रतिबन्ध लगाएका छन् तर अनलाइनमा हेर्ने कुनै पनि देशको सरकारले रोक्न सक्ने छैन । अहिले भारतमा ४० भन्दा बढी त्यस्ता स्ट्रिमिङ साइट रहेका छन् जसले हिन्दीसँगै प्रान्तिय भाषाका फिल्म हेर्ने सुविधा प्रदान गर्छन् । यसमा नेटफ्लििक्ससँगै अमेजन प्राइम, एलटी बालाजी, सोनी लिभ, हंगामा, हटस्टार आदि लोकप्रिय छन् । अरसद वारसी र बरुण सोबतीको अभिनय रहेको ‘असुर’को लोकप्रियतापछि ‘भुट’ पनि यो लिस्टमा सामेल भएको छ ।

नेटफ्लििक्सले तीन वर्ष अघिदेखि नै भारतमा आक्रामक लगानीको नीति लिएको थियो । फलस्वरुत विगत दुई वर्षयता नेटफ्लििक्समा हिन्दी भाषाका सिरिज र फिल्मको बाढी नै आएको छ । त्यसैगरी अमेजन प्राइम पनि गतसालदेखि उत्रै ठूलो लगानीसहित भारतमा सक्रिय छ । त्यसैले हलिउड झैं बलिउडमा पनि स्ट्रिमिङ साइटले गति लिने कुरामा शंका छैन । यदि अवस्था सामान्य रह्यो भने पनि बलिउडलाई ट्रयाकमा आउन ६÷७ महिना लाग्ने विश्लेषकहरु बताउँछन् । किनकि कोरोनाका कारण रिलिजको संघारमा रहेका थुप्रै फिल्म सरेका छन् भने दर्जनौं फिल्मको सुटिङ रोकिएको छ । यो ग्यापको समयमा दर्शकलाई फिल्मका लागि स्ट्रिमिङ साइटको शरण पर्नुको विकल्प छैन ।
हरेक साना ठूला परिवर्तनले मानिसको सामाजिक साँस्कृतिक जीवनमा उथलपुथल ल्याउँछन् । यो मान्यतामा रहेर नेपाली समाजले हेर्ने हो भने विगत दुई तीन दशक यहाँ ठूलठूला परिवर्तन भएका छन् । तर, ति परिवर्तन कलामा नगण्य रुपमा प्रतिबिम्बित भएका छन् । अझ सिनेमामा त भएका छैनन् भने पनि हुन्छ । न पञ्चायत ढालेर प्रजातन्त्र ढालेपछि आएको सामाजिक परिवर्तन फिल्ममा अटाएको छ न गणतन्त्र आएपछिको । न त भूकम्पले भाँचेको सम्बन्ध फिल्मको कथा बनेको छ । त्यसैले कोरोनाले निम्त्याएका परिणामहरु भोलि नेपाली फिल्मको कथा भित्र अटाउलान् ? विश्वास गर्न गाह्रै छ ।

नेपालमा फिल्म बनाउने संख्या पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले कमी आएको छ । फिल्ममा लगानी गरेको पैसा नाफा त के सावाँ नै उठ्न छाडेपछि लगानीकर्ता बिच्कन थालेका थिए । यसको असर यो साल राम्ररी नै देखिएको थियो । अघिल्लो साल ९६ को संख्यामा फिल्म रिलिज भएका थिए भने यो साल ५५वटा फिल्म हलमा आएका थिए । यसमा कोरोनाका कारण रोकिएका ५ फिल्म थप्ने हो भने पनि यो संख्या ६० हुन आउँछ । यो साल पनि सुटिङमा जाने फिल्मको संख्या खासै धेरै थिएन । जान लागेका फिल्म पनि रोकिएको अवस्था छ । त्यसैले कोरोनाकै कारण अर्को साल रिलिज हुने फिल्मको संख्यामा भारी गिरावट आउने निश्चित छ । यसले धेरै कलाकार र प्राविधिक आउँदो साल पनि घरमै बस्नेछन् । यसको सम्भावना के कारण पनि छ भने अहिले पनि नेपाली फिल्मका प्रत्यक्ष अप्रत्यक्ष लगानीकर्ता डायस्पोराका नेपाली हुन् । कोरोनाले त्यहाँको अर्थतन्त्रको ढाड भाँच्दा डायस्पोराका नेपालीको पनि खति भएको छ । यस हिसाबले पनि अर्को साल निर्माणमा उल्लेख्य कमी आउने निश्चित छ । तर, निर्मााणको कमीले बिना आधार बढेको कलाकार तथा प्राविधिकको भाउ भने सन्तुलनमा आउने आशा गर्न सकिन्छ । पछिल्ला दुई तीन वर्षमा कलाकारदेखि प्राविधिकसम्मले आफ्नो भाउ दोब्बर तेब्बर बढाएका थिए जबकि फिल्मको व्यापार भने ह्रासोन्मुख थियो । यसले निर्मातालाई डिजिटल प्लेटफर्मसँग भने राम्रो पैसा वार्गेन गर्ने अवसर प्रदान गर्न सक्छ ।

भनिन्छ हरेक चुनौतीले अवसर पनि लिएर आउँछ । तर, कोरोनाले थपेको चुनौतीले कस्तो कस्तो अवसर ल्याउँछ त्यो हेर्न भने अवस्था सामान्य भएपछि मात्र आँकलन गर्न सकिन्छ ।