Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

भारतमा सिनेमा हल भर्सेज डिजिटल प्लेटफर्म

२०७७ असार ४ गते ११:२१ by सामीप्य

भारतमा सिनेमा हल र डिजिटल प्लेटफर्मबीचको मुद्दा दिनानुदिन संगीन बन्दै जान थालेको छ । सिनेमाहलका लागि भनेर बनाइएका फिल्म डिजिटल प्लेटफर्ममा आउन थालेपछि हल सञ्चालकले यसले सिनेमा संस्कृतिलाई नै असर पर्न सक्ने चेतावनी दिन थालेका छन् ।

भारतमा केही समयमा यता ओभर दि टप (ओटिटी) भनिने डिजिटल प्लेटफर्मको बाढी नै आएको छ । भारतमा ४० को हाराहारीमा यस्ता प्लेटफर्म छन् जसले भारत र विश्वका सिनेमा देखाउँछन् । जसमा नेट्फ्लििक्स, अमेजन प्राइम, डिज्नि हटस्टार, डिज्नीप्लस, जि फाइभ, भुट जस्ता ठूला खेलाडी पनि छन् जसले एउटै सिनेमाका लागि करौंडौ रुपैंया खर्चन थालेका छन् । स्याटालाइट अधिकारको बिक्रिबाट मात्र पनि लगानीको महत्वपूर्ण हिस्सा उठाउँदै आएका भारतीय फिल्म निर्माता ओटिटीको जगजगीले थप खुशी भएका छन् । किनकि ओटिटी प्लेटफर्मबीच फिल्म किन्ने प्रतिस्पर्धा जोडले चलिरहँदा उनले यस्ता प्लेटफर्मबाट पनि मागेको जति रकम पाउन थालेका छन् । तर, यसैबीच आएको कोभिड १९ को रोगले ओटिटी प्लेटफर्मलाई थप फाइदाजनक अवस्थामा पुर्याएको छ । यही रोगका कारण मार्चयता भारतमा सिनेमा हल बन्द छन् भने कहिले खुल्ने अझै टुंगो छैन । हल खुल्ने समय पर्खन नसक्ने निर्माताहरुले यही समयमा डिजिटल प्लेटफर्मको बाटो समातेका छन् ।
यही महिना मात्र हलमा रिलिज गर्ने तयारीमा रहेको ७ फिल्मले हल नकुरेर डिजिटल प्लेटफर्म रोजेको समाचार आयो । तर, हल नकुरी अमेजन प्राइममा आउने निर्णय गरेको ‘गुलाबो सिताबो’ले डिजिटल प्लेटफर्म र हलबीच भित्रभित्रै चलिरहेको द्धन्द्ध सतहमा ल्याइदियो । अमिताभ बच्चन र आयुष्मान खुरानाको अभिनय रहेको यो फिल्म प्रतीक्षित फिल्मको सूचीमा थियो तर यसका निर्माताले फिल्म हलमा नलगाई सिधै अमेजन प्राइममा रिलिज गर्ने निर्णय गरे । यसलाई पछ्याउँदै यही हप्ता नवाजुद्दिन सिद्धिकीको ‘घूमकेतु’ र विद्या वालनको ‘शकुन्तलादेवी’ले पनि सिधै डिजिटल प्लेटफर्मको बाटो समात्ने निर्णय गरे । उनीहरुको देखासेखीमा केही क्षेत्रिय फिल्मले पनि हलको साटो यस्तै डिजिटल प्लेटफर्म समाते ।

‘गुलाबो सिताबो’जस्तो बक्स अफिसमै पनि राम्रो व्यापार गर्न सक्ने फिल्मले पनि आत्मसमर्पण गरेको देखेपछि भारतका मल्टिप्लेक्स चेन चुप लागेर बस्न सकेनन् । सबैभन्दा पहिला मुख खोल्यो ‘इनोक्स लिजर’ले । इनोक्स लिजर भारतमा सबैभन्दा धेरै मल्टिप्लेक्स चेन भएको सिनेमा हल हो । भारतका ६८ सहरमा सिनेमा हल खोलेको इनक्सका १६५ वटा हल र ६२६ पर्दा छन् । इनोक्सले ‘गुलाबो सिताबो’को खबर बाहिरिने बित्तिकै प्रेस विज्ञप्ती जारी गर्दै सिनेमाको पहिलो गन्तव्य हल हुनु पर्ने जिकिर गर्दै निर्मातालाई यसका लागि धैर्य गर्न आग्रह गर्यो । इनोक्सको सिको गर्दै पिभिआरले पनि वक्तव्य जारी गर्यो जसमा सिनेमा हलले केही वर्षयता निरन्तर चुनौती खेपिरहेको र ओटिटीले त्यो चुनौती बढाउने काम गरेको उल्लेख गरेको थियो । पिभिआरले वक्तव्यमा दर्शक फेरि पनि सिनेमा हल आउन व्यग्र रहेकाले त्यतिञ्जेल धैर्य गर्न पनि निर्मातालाई आग्रह गरेको थियो ।
पलैसँग अरु मल्टिप्लेक्स चेनले पनि चिन्ता जाहेर गरेका समाचार आएका थिए तर यसले निर्मातालाई खासै असर गर्ने लक्षण देखिएको छैन । किनकि संकट तत्काल पार नलाग्ने अवस्थामा ठिकैको बजेटका अरु फिल्म पनि डिजिटल स्ट्रिमिङको बाटो समात्ने मुडमा छन् । यसमा अक्षय कुमारको ठूलो बजेटको फिल्म ‘लक्ष्मीबम्ब’ पनि सामेल छ । यही क्रममा हलकै लागि बनाएका दिल बेचारा डेज्नीमा रिलिज भइसकेको छ भने सडक २, दि बिग बुल,  डेज्नी प्लसमा आउँदै छन् । 

नेटफ्लिक्सले भारतमा पाइला राखेसँगै हलको सातो गएको थियो । अझ हलमा रिलिज गर्ने भनेका केही फिल्म सिधै नेटफ्लिक्समा हाल्न थालेपछि बलिउडका हिरोहरु पनि यो विवादमा तानिएका छन् । आफूले अभिनय गरेका फिल्मले हलको मुख देख्न नपाई नेटफ्लिक्समा रिलिज भएपछि हिरोहरु सैफअलि खान र सुशान्तसिंह राजपुत रुष्ट भएको समाचार आएका थिए । त्यसयता उनीहरुले आफ्नो सम्झौता पत्रमा हलमा राम्ररी रिलिज नगरी ओटिटीमा रिलिज गर्न नपाइने बुँदा थपेको समाचार बाहिरिएका छन् । सुशान्त सिंह राजपुतको ‘ड्राइभ’ सिधै नेट्फ्लिक्समा रिलिज भएको थियो भने सैफको ‘लाल कप्टन’ पनि हलमा नाम मात्रको रिलिज भई नेटफ्लिक्समा आएको थियो । यो ट्रेन्ड बढ्नेदेखि उनीहरुले सम्झौतामा नयाँ बुँदा थपेका छन् जसमा आफूहरुले अभिनय गरेको फिल्म हलमा राम्ररी रिलिज गर्नु पर्ने शर्त राखिएको छ ।

भारतमा फिल्म उद्योगको कमाइमा सिनेमा हलको योगदान ६५ देखि ७० प्रतिशतसम्म रहेको अनुमान छ । बाँकी प्रतिशत स्टाटालाइट र ओटिटीको भागमा आउँछ । तर, संकटका बीच नै ओटिटीले बलियो खुट्टा टेक्ने रणनीति लिएका छन् । त्यसले सिनेमा हलमा रिलिजपछि आधा पैसामा पाउने फिल्म पनि उनीहरुले महंगो मूल्यमा किनेका छन् ।

चर्चामा रहेको ‘गुलाबो सिताबो’ पनि अमेजनले ७० करोडमा किनेको चर्चा छ । जबकि यो फिल्मको बजेट ३५ करोड हो । यसमा प्रचार प्रसारको १५ करोड जोड्ने हो भने पनि यसको कुल बजेट ५० करोड हुन आउँछ । तर, स्याटालाइट अधिकार नबेच्दा पनि निर्माता २० करोड नाफामा छन् । यसमा स्याटालाइट अधिकारको पैसा जोड्दा यो नाफा डबल हुन जान्छ । भारतमा कलाकार र निर्देशक हेरी एउटा फिल्मले १० करोडदेखि ४० करोडसम्ममा स्याटालाइट अधिकार बेच्ने गरेका छन् । यदि फिल्म दुई तीन सय करोड कमाउने बाटोमा छैन भने धेरै निर्माताले यो कमाइ आकर्षक मानेका छन् । ठूलो लगानी भएको फिल्मका लागि भने सिनेमा हलमा रिलिज गर्नुको विकल्प छैन ।
डिजिटल प्लेटफर्मले सिनेमा हलको व्यापारमा कति असर गर्छ भन्ने कुरा संसारभर नै बहसको विषय बनेको छ । पछिल्ला केही वर्षमा फिल्म हलमा जाने दर्शकमा कमी आउँदा गरेको तथ्यांकले पनि यो क्षेत्रका विज्ञ चिन्तित छन् । तर, विश्वका अन्य देशमा फुटफल घट्दै गएको देखिएपछि भारतमा भने यो क्रम बढ्दो क्रममा थियो । भारतमा सय करोड कमाउने फिल्मको संख्या तीन चारबाट बढेर एघारसम्म पुगेको थियो । तर, बीचैमा आएको कोरोनाले मानिसको फिल्म हेर्ने बानी नै परिवर्तन गरिदेला कि भन्ने चिन्ता बढाइदिएको छ । अझ यही समयमा ओटिटी प्लेटफर्मले पनि फिल्मको स्वामित्व लिने क्रम ह्वात्तै बढाएपछि यसले हल सञ्चालकको निन्द्रा नराम्ररी बिथोलेको छ ।
तर, यस्ता परिवर्तनलाई नजिकबाट नियालेका फिल्मविज्ञ यस्ता प्लेटफर्मले हलको व्यापारलाई दीर्घकालसम्म चुनौती दिन नसक्ने बताउँछन् । उनीहरुको तर्क छ, ‘सिनेमाले जुन लार्जर देन लाइफ चित्र देखाउँछ त्यो चित्र टेलिभिजन वा मोबाइलमा महसुस गर्न सकिन्न । सिनेमा हल सामूहिक मनोरञ्जनको मुटु हो जुन सजिलै बिस्थापित हुँदैन ।’

बजारमा नयाँ कुरा आउने बित्तिकै यसले अर्कोलाई बिस्थापित गरिहाल्छ कि भनेर बहस हुन्छ । हिजो टेलिभिजन आउँदा पनि विश्वमा यसैगरी बहस भएको थियो । टेलिभिजनले सिनेमाको व्यापार खाइदिन्छ कि भन्नेसम्मका आँकलन थिए । तर, सिनेमाको व्यापारलाई टेलिभिजनको उपस्थितिले खासै असर गरेन । झन् बढेको छ । र, ओटिटीको हकमा पनि यही हुने धेरैको विश्वास छ । उनीहरुको निष्कर्ष छ, ‘हिजो जसरी सिनेमासँग टेलिभिजन मिलेर बसेको थियो भोलि ओटिटी पनि त्यसै गरी बन्छन् ।’ अभिनेत्री तथा निर्माता पूजा भट्टले त डिजिटल प्लेटफर्म र प्रदर्शकको लडाइँलाई दुई टक्लुले काइँयाको लागि गरेको झगडासँग तुलना गरेकी छिन् । ‘कपाल नै नभएको मान्छेले काइँयोका लागि झगडा गर्नु र अहिले ओटिटी र हल लड्नु एकै हो । दर्शक चाहियो नी !’ उनले लेखेकी छिन् ।