Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

फिल्म समीक्षक किन पूर्वाग्रही ?

२०७७ असार ४ गते ११:२४ by सामीप्य

अघिल्लो साल रिलिज भएका अधिकांश फिल्मले समीक्षकको झाँको भेटे । ‘हरि’ र ‘बुलबुल’ छाडेर कुनै पनि फिल्मले गतिलो समीक्षा पाएनन् । दुई मध्ये ‘बुलबुल’मा पनि समीक्षकको एक मत थिएन । केही समीक्षकले ‘बुलबुल’लाई पछिल्ला केही बर्षकै उत्कृष्ट सिनेमाको रुपमा व्याख्या गरिरहँदा केहीलाई यो अपर्याप्त प्रयासभन्दा बढी लागेन ।

फिल्मलाई हेर्ने दृष्टिकोणमा देखिएको विविधता इतिहासमै सर्वाधिक कमाउने ‘छक्का पञ्जा ३’ मा पनि देखियो । केही समीक्षकका लागि यो फिल्म हेर्दा रमाइलो र सोच्दा गम्भीर थियो तर केहीका लागि यो फिल्म गम्भीर विषयमा गरिएको हेलचेक्रायाँइ । तर, दर्शकलाई फिल्मको समीक्षासँग केही मतलब थिएन । ‘छक्का पञ्जा ३’ हेर्न दर्शकको ओइरो लाग्यो । तर, यसका निर्माता तथा कलाकार दीपकराज गिरीलाई दर्शक आएर मात्र पुगेको छैन । समीक्षकले आफ्नो फिल्मलाई कम रेटिङ दिएको रिस कहिले फेसबुकको भित्तामा त कहिले सार्वजनिक कार्यक्रममा पोखिरहन्छन् । हालसालै उनले भारतीय मिडियाले शैक्षिक बिसंगतिमा बनेको ‘मुन्नाभाइ एमीबिएस’लाई टन्न रेटिङ दिएको तर उस्तै विषयमा आफूहरुले बनाएको ‘छक्का पञ्जा ३’ लाई दुईभन्दा बढी रेटिङ नदिएको भन्दै समीक्षक आफूप्रति पूर्वाग्रही भएको आरोप लगाए ।

आफ्ना फिल्मलाई लिएर गरिने समीक्षामा चित्त नबुझाउनेमा दीपकराज गिरी एक्ला व्यक्ति होइनन्, यहाँ हरेक फिल्ममेकर समीक्षकको समीक्षादेखि दुःखी छन् । । हलमा दर्शक नपाएका फिल्मका निर्माता निर्देशकको चित्त दुखाइ त छँदैछ दर्शक पाएका फिल्मलाई पनि समीक्षकको समीक्षाले पारो तताउँछ । मारामार दर्शक आइरहँदा पनि केहीले ‘ए मेरो हजुर ३’ का संवाद र पुरानो कथालाई लिएर आलोचना गरेपछि निर्देशक झरना थापाले समीक्षकलाई रोजीरोटी गुम्ने चेतावनी दिइन् । उनको आसय थियो, ‘झरना थापाले फिल्म बनाएकी छन् र पत्रकारले फिल्मको समाचार लेखेर रोजीरोटी चलाएका छन् ।’

टर्कीस फिल्मबाट हुबहु फिल्म अनुवाद गर्दा पनि प्रदीप खड्काले अभिनय गरेको ‘लभ स्टेसन’ले पर्याप्त दर्शक पाएन । निर्मातासमेत रहेका प्रदीप खड्काले हलमा रित्ता कुर्सी देखेपछि यसको दोष पनि समीक्षकमाथि नै थुपारे । उनले त अझ समीक्षा गर्ने दिन नै तोकिदिए । ‘आइन्दा बिहीबारको नाइटो सोपछि मात्र समीक्षा लेख्नु । सकेसम्म समीक्षा लेख्नुअघि फिल्ममेकरलाई सोध्नु ।’ अर्काको सिर्जना हाकाहाकी चोरेर फिल्म बनाएकोमा लज्जाबोध गर्नु त कता हो कता प्रदीपको ध्यान अरुलाई अर्ति दिनमा छ । फिल्म नचलेपछि पैसा फिर्ता गर्ने रजनीकान्त र सलमान खानले कहिलै पनि आफ्नो फिल्म नचल्दा समीक्षकलाई गाली गरेको सुनिएको छैन । हालसालै आमिर खान र शाहरुख खानले पनि आफ्नो फिल्म नचल्नुको जिम्मेवारी सहर्ष आफूले लिए । तर, आधा दर्जन फिल्म खेलेका प्रदीप खड्का आफ्नो असफलता अरुमा थोपर्न उद्यत छन् ।

नेपालमा अघिल्लो साल रिलिज भएको ९० प्रतिशत फिल्म बक्स अफिसमा असफल भए । निर्माताको करोडौं रुपैंया डुब्यो । स्टारका फिल्म पनि चलेनन् , मेगास्टारका फिल्म पनि चलेनन् । तर, विचित्र रमाइलो के छ भने जब जब नेपालमा फिल्म चल्दैनन्, त्यसको पहिलो दोष समीक्षकको थाप्लोमा आइपर्छ । फिल्ममेकर बेग्ला बेग्लै झुण्डमा बसेर निष्कर्ष निकाल्छन् , ‘समीक्षकको खराब समीक्षाका कारण दर्शक हल गएनन् किनकि उनीहरु फिल्मकोे नराम्रो कुरा मात्र हाइलाइट गरेर लेख्छन् । राम्रा कुराको उच्चारण पनि गर्दैनन् । अनि यस्ता फिल्मकर्मीलाई उकेरा लगाउँछन्, केही फिल्म पत्रकार । उनीहरु दर्शकका लागि बनाएका सबै फिल्म दर्शक र समीक्षकको ‘गुडलिस्ट’मा पर्दैनन् भनेर सम्झाउनुको साटो आगोमा घिउ थप्छन्, ‘समीक्षक डकुमेन्ट्री र डकुड्रामा टाइपका फिल्मलाई मात्र राम्रो भन्छन् । उनीहरु व्यवसायिक फिल्मका दुश्मन हुन् ।’ फिल्ममेकरलाई लाग्छ, उसकै पेशाको मान्छे त समीक्षाप्रति सन्तुष्ट छैन भने हामी किन हुने ?
तर, धेरै फिल्ममेकरले सोचे जस्तो न समीक्षक व्यवसायिक फिल्मका दुश्मन हुन् न समानान्तर सिनेमाका पक्षपाती । उनीहरु राम्रो फिल्मका पक्षपाती हुन् चाहे ती व्यवसायिक हुन् चाहे आर्ट हाउस । तर, नेपाल जस्ता ठाउँमा बजारको पछि नलागेर ‘स्वान्त सुखाय’का लागि फिल्म बनाउने फिल्ममेकरलाई सकारात्मक विभेदको जरुरी छ जुन यदाकदा समीक्षकले गर्ने गर्छन् । किनकि फूलबारीमा जति धेरै जातका फूल फुल्छन्, फूूलबारी त्यति नै सुन्दर हुन्छ । तर, फूलबारीमा कुन फूल फूलाउने , कुन फूल नफुलाउने त्यसको अन्तिम निर्णय दर्शकले गर्छन् नकि कुनै समीक्षकले । न समीक्षकले राम्रो लेखेकै भरमा कुनै फिल्मलाई हिट बनाउन सक्छन्, न कसैलाई नराम्रो लेखेर फ्लप । यसको ताजा उदाहरण गतसाल रिलिज भएका ‘छक्का पञ्जा ३’ र ‘हरि’ नै हुन् । समीक्षकको समीक्षाले फरक पाथ्र्यो भने न ‘छक्का पञ्जा’का तीन सिरिजले पैसा छाप्थे न ‘हरि’को हरिबिजोग हुन्थ्यो । यो प्रक्रियाको सार के हो भने यहाँ हरेकले आआफ्नो भूमिका निर्वाह गरिरहेको हुन्छ । एउटा फिल्ममेकरले फिल्म बनाउँछ , दर्शक टिकट काटेर फिल्म हेर्न जान्छ र समीक्षक फिल्मको गुणदोष पाठकलाई सम्प्रेषण गर्छ । समीक्षामा सहमत असहमत हुने अधिकार त सबैलाई छँदैछ । तर, समीक्षा नै नगर, गरे पनि मलाई सोधेर गर, नभए फलानो चिलानु दिन गर भन्नु फिल्ममेकरको अज्ञानताका पराकाष्ठा हो ।

यहाँ फिल्ममेकर समीक्षा नै रुचाउँदैनन् भन्ने पनि होइन । रुचाउँछन्, त्यतिबेलासम्म रुचाउँछन् जबसम्म आफूले बनाएको फिल्मले खराब समीक्षा पाउँदैन । तर, जुन दिन उसले आफ्नो पनि सिनेमाको खराब समीक्षा पाउँछ त्यो दिनबाट हिजोसम्म सही समीक्षा लेख्ने मानिस उसको नजरमा अचानक पूर्वाग्रही र उद्योगको दुश्मनमा परिणत हुन्छ । व्यक्तिगत रुपमा कुनै फिल्ममेकरप्रति उसको असन्तुष्टि नै छ भने पनि पाठकप्रति उत्तरदायी समीक्षक कम्युटरको किबोर्डमा औंला राखेपछि बेइमान हुन सक्दैन । त्यसैले समीक्षा लेखिरहँदा समीक्षक न व्यवसायिक फिल्मको खोइरो खनिरहेको हुन्छ, न डकुड्रामा टाइपको फिल्मको पक्षपोषण । पूर्वाग्रहको पट्टी खोलेर हेर्यो भने समीक्षकको यो दृष्टिकोण स्पष्ट देखिन्छ । उनीहरुले अरुले भन्ने जस्तो डकुड्रामा टाइपका सबै फिल्मको तारिफ गर्ने गरेका छैनन्, न सबै पैसा कमाउने फिल्मलाई गाली । फिल्म भनेको व्यापार मात्र होइन, कलात्मक व्यापार हो । त्यसैले पैसा मात्र कमाउन छ भने फिल्ममेकरले अरु कुनै व्यापार गर्दा हुन्छ तर मम पसलेले जस्तो पैसा मात्र कमाउने फिल्म बनाएर समीक्षकको वाहवाही खोज्न मिल्दैन । र, राम्रो रेटिङ भिखारीले जस्तो भिख मागेर पनि पाइँदैन । कमाउनु पर्छ ।
समीक्षाको कुरा गरिरहँदा नेपालमा सबै समीक्षा सही भइरहेका छन् भन्ने कदापि होइन । लेख्ने जति सबै समीक्षकले निरपेक्ष रहेर लेखिरहेका छन् भन्ने पनि होइन । हामीले लेखिरहेका समीक्षामा पनि अनगिन्ती समस्या छन् । तर, नेपालमा समीक्षा माथिको बहस यो कोणबाट उठ्न सकेको छैन । भर्खरै हो, बलिउडको क्रिटिक्स च्वाइस अवार्डमा समापन मन्तव्य दिन पुगेको शाहरुख खानले स्टारमा दिइने रेटिङ सिस्टममा प्रश्न उठाउँदै यसको विकल्प खोज्न आग्रह गरे । समीक्षकले फिल्मलाई दिने स्टार र होटलको गुणस्तर बताउने स्टार एकै भएकाले यसले समीक्षाको मर्म निर्वाह नगरेको उनको तर्क थियो । उनको आसय थियो, फिल्मलाई दिने रेटिङ सिस्टमले फिल्मलाई कुनै वस्तु झैं मानिरहेको छ जबकी यो कलाको उच्चतम स्वरुप हो । हलिउडतिर पनि धेरै समीक्षकले समीक्षालाई रेटिङमा भन्न छाडिसकेका छन् । शाहरुख खानको मन्तव्यको असर अनुपमा चोपडा र भारद्धाज रंगुन जस्ता समीक्षकले फिल्मको समीक्षा रेटिङमा नगर्ने घोषणा गरे । तर, हाम्रो बहस केन्द्रित, समीक्षा बन्द गराउनमा । समीक्षाको गुणदोषमाथि बहस गर्नुको साटो, हामी सबै निष्कर्षमा पुगिसकेका छौं, समीक्षा बन्द भयो भने नेपाली फिल्ममा दर्शकको ओइरो लाग्छ । कुनै पनि कला त्यतिबेला मात्र महान् हुन्छ जब यो अनेकौं परिक्षाबाट गुज्रन्छ । फिल्म पनि यस्तै कला हो । कुनै पनि फिल्म त्यतिबेला महान् हुन्छ जब यो समीक्षा जस्ता प्रक्रियाबाट गुज्रन्छ । नत्र ‘यहाँ हाम्रा कृतिलाई महान् हुन दिँदैनन्’ भनेर रोएर मात्र कसैको फिल्म महान हुँदैन । नत पैसा कमायो भन्दैमा त्यो उत्कृष्ट हुन्छ ।

नेपालमा बारम्बार भन्ने गरेको सुनिन्छ, ‘हामीलाई समीक्षकको केही मतलब छैन, हाम्रा असली समीक्षक दर्शक हुन् ।’ ‘हामीले फिल्म दर्शकका लागि बनाएका हौं, समीक्षकका लागि हैन’ भन्ने फिल्ममेकरको पनि कुनै कमी छैन । तर, समीक्षक झन् ठूला दर्शक हुन् । अझ फिल्ममेकरकै भाषामा भन्ने हो भने ‘डाइहार्ड फ्यान’ । समीक्षा गर्नेलाई थाहा हुन्छ, एउटा फिल्म बनाउन निर्माताको करोडौं रुपैंया र सय डेडसय मानिसको दिनरातको मेहनत जोडिएको हुन्छ । त्यसैले समीक्षक पनि चाहान्छन्, त्यत्रो कुरा दाउमा लगाएको फिल्ममेकर सफल होस् । उसको सिर्जनाको दिल खोलेर प्रशंसा गर्न पाइयोस् , उसले करोडौं कमाओस् । कुनै पनि समीक्षक फिल्ममेकरको असफलतामा खुशी हुँदैन । तर, फिल्ममेकरलाई समीक्षकभन्दा मौसम झैं बदलिरहने फ्यानको ज्यादा भरोसा हुन्छ । तर, तिनै फ्यान भोलि त्यही फिल्ममेकरसँग टाढिँदै जान्छन् जब उनीहरुलाई आफू राम्रो फिल्म हेर्नबाट ठगिएको महसुस हुन्छ । राजेश हमाललाई नै हेरौं न । हिजो उनको कपाल र हात हावामा उछालेर हे….भन्दा दंग हुने फ्यान , के हमालबाट राम्रो फिल्म हेर्न नपाएकोमा आज पछुतो मान्दैनन् ? के राजेश हमाल र उनका फिल्मलाई फ्यानले महान् मानेका होइनन् तर किन उनकै आँखा अगाडि उद्योग संकटकाल लाग्ने अवस्थामा पुग्यो ? अनि के फ्यानलाई चैं राम्रो फिल्म हेर्ने अधिकार छैन ? समीक्षक तपाईंहरुका यिनै फ्यान बचाउन सचेतकको भूमिका निर्वाह गर्न खोजिरहेका छन् । उनीहरु फिल्ममेकर, फिल्म उद्योग कसैका पनि दुश्मन होइनन् । शुभचिन्तक हुन् । त्यसैले उनीहरुलाई चौर औंला ठड्याएर न तपाईहरुले रोजीरोटीको धम्की दिन पर्छ न समीक्षा गर्न सिकाउन पर्छ । यो उद्योग न तपाईंले एउटा दुइटा फिल्म बनाएर बचाउन सक्नु हुन्छ न कुनै समीक्षकले समीक्षा गरेकै भरमा डुबाउन सक्छ ।

यो लेख लेखिरहँदा नै ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाको नयाँ धारणा आएको छ जहाँ उनले समीक्षकको समीक्षाले दर्शक भड्काएको आरोप लगाएकी छिन् । दीपाश्रीलाई सोझो प्रश्न, ‘ समीक्षाले नै दर्शक भड्किने भए, ‘छक्का पञ्जा’ हेर्ने दर्शक अन्तरिक्षबाट आए ?’ अनि जुन फिल्मको समीक्षा भएको छैन , ती फिल्म हेर्ने दर्शक कहाँ गए ? राम्रो फिल्म बनाउन नसकेको कुण्ठा फिल्मकर्मीले कहिले वितरक, कहिले हलवाल त कहिले समीक्षकमा कतिन्जेल पोखिरहने ?