Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

कथ्य शैलीमा आउँदैछ बदलाव

२०७७ असार ४ गते ११:२८ by सामीप्यराज तिमल्सेना

नेपाली सिनेमामा बिस्तारै परिवर्तनका लक्षणहरु देखिन थालेका छन् । फिल्म बनाउने उद्देश्यदेखि फिल्मको स्वरुप र ढाँचाका सम्बन्धमा पनि गहन बहस हुन थालेका छन् । योसँगै फिल्मको संरचना र कथा भन्ने शैलीमा पनि सुक्ष्म परिवर्तन आइरहेको देख्न सकिन्छ । पछिल्लो दशकमा बनेका केही नेपाली फिल्मले कथ्य संरचनामा व्यापक प्रभाव पारेका छन् । यहाँ कथ्य शैली भन्नाले कथालाई अभिव्यक्त गर्ने शैलीमा आएको परिवर्तनलाई इंगित गर्न खोजिएको हो ।

नेपालको फिल्म निर्माण परम्परामा बलिउडको प्रत्यक्ष प्रभाव छ । यो प्रभाव फिल्मको कथा छनोटमा मात्र होइन यसको प्रस्तुतिमा पनि देख्न सकिन्छ । सामाजिक तथा सांस्कृतिक समानताका कारण यसो हुनु अन्यथा हैन तर नेपालको पनि आफ्नै संस्कृति , परम्परा र रीतिरिवाज थियो र छ, तर त्यो कुराको प्रभाव ग्रहण गर्न नसक्नु नेपाली फिल्मका लागि दुर्भाग्य रह्यो । त्यसैले नेपाली फिल्मको मौलिकताको बहस बलिउड शैलीबाट मुक्त हुनुमा मात्र खुम्चिएको छ । गीत, फाइट र मान्छे भिलेन नभएको फिल्मलाई मौलिक देख्ने र तिनलाई रातारात काँधमा बोक्नु पर्ने बाध्यता यही अवस्थाको उपज हो । तर, यही बीचमा विदेशी फेस्टिभल र पश्चिमाले देख्न चाहे जस्ता बनेका फिल्मले पनि मौलिकताको बहसलाई खुम्च्याइ दिएका छन् । समाजमा बिस्तारै त्यस्ता फिल्मप्रति पनि औंला उठ्न थालेका छन् जसले अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरेका त छन् तर तथ्यको प्रस्तुतिमा इमान्दार छैनन् ।

सिनेमाको कथ्यमा दुईटा कुरा मुख्य हुन्छन् । कथाको विषय र त्यसलाई प्रस्तुत गर्ने तरिका । सिनेमाको भाषामा व्यक्त गर्नुपर्दा यि दुईलाई कथा र प्लट पनि भन्न सकिन्छ । कथा सामान्यरुपमा घटनाको सिलसिलेवार प्रस्तुति हो भने प्लट, सोही कथालाई अभिव्यक्त गर्ने शैली । कथामा को ? के ? र कहाँ ? भन्ने प्रश्नको उत्तर पाइन्छ भने भने प्लटमा कसरी ? र कहिले ? भन्ने कुराको उत्तर खोज्ने प्रयास गरिन्छ । नेपाली फिल्मको कथ्य संरचनामा आएको परिवर्तनलाई पर्गेल्ने हो भने पनि पहिले र अहिलेका फिल्ममा पाइने यि नै ५ प्रश्नलाई तुलनात्मक अध्ययन गरे पुग्छ ।

‘स्टेरियोटाइप’ नेपाली सिनेमाको सबैभन्दा ठूलो समस्या हो । एकै खाले कथा, चरित्र, गीत, संगीत र प्रस्तुतिमा नेपाली सिनेमाले ५० भन्दा बढी भोटो फटायो । भोटा त फाटे तर सिनेमामा परिपक्वता आएन । परिवक्वता किन आएन ? यो यस्तो प्रश्न हो जसमाथि व्यापक बहस हुन जरुरी छ । तर, सतहमा देखिएको कारण चैं फिल्ममा सक्रिय निर्माता निर्देशकको सामाजिक सांस्कृतिक ज्ञान र फिल्म बनाउने उद्देश्यमा गएर ठोकिन्छ । पछिल्लो दसकमा नयाँ पुस्ताका फिल्मकर्मीको आगमनले फिल्मप्रतिको बुझाइमा व्यापकता आएको छ । पछिल्लो समयका फिल्मकर्मी विश्व फिल्मको धार र प्रवृत्तिबारे राम्रै ज्ञान राख्न थालेका छन् तर, सोही ज्ञान आफूले फिल्म बनाउँदा प्रमाणित गर्न सकेका छैनन् । उनीहरुले कथाको ‘स्टेरियोटाइप’ तोड्दै फरक फरक विधामा फिल्म बनाउने आँट गरे पनि कुरालाई काममा बदल्ने क्षमता प्रमाणित गर्न सकेका छैनन् ।

नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनलाई मुख्यतया तीन शीर्षकमा केन्द्रित रहेर विश्लेषण गर्न सकिन्छ ।

१ कथा.
हिजाका दिनमा नेपाली फिल्मको कथा रामायण, महाभारत वा कृष्ण चरित्रजस्ता मिथकीय चरित्रबाट अनुश्रुत गरिएको थियो । फिल्ममा रामलिला वा रासलिलाको प्रभाव रहन्थ्यो । कथामा राम हुन्थे, सीता हुन्थिन् र रावण हुन्थ्यो । पाण्डव हुन्थे, कौरव हुन्थे र झगडाको कारण द्रोपदी हुन्थिन् । श्रीकृष्ण– राधा हुन्थे र कंश हुन्थे । मिथकीय साहित्य झैं नेपाली फिल्ममा पनि यस्तै समाज हुन्थ्यो र चरित्र हुन्थ्यो । असल र खराब चरित्रबीच द्धन्द्ध हुन्थ्यो र धिरोदात्त गुण भएको नायकले खलनायकलाई परास्त गथ्र्यो । बलिउडको पनि संरचना यही नै हो । यसमा पारसी थिएटरको अझ बलियो प्रभाव रहेको तर्क गर्ने गरिन्छ । थिएटरमा कथालाई रोचक बनाउन जोकर राख्ने गरिन्थ्यो । हिजोका दिनमा गौपालराज मैनाली, बसुन्धरा भुसाल, तैयब शाह, नारायण त्रिपाठीले फिल्ममा यस्तो भूमिका निर्वाह गर्थे, तर कथ्य शैलीमा आएको परिवर्तन नै यही हो आजभोलि यस्तो काम हिरो स्वयंम वा हिरोको साथीले गर्छ । राजेश हमाल युगको अन्त्य हुनमा पनि नेपाली फिल्मले छाडेको यस्तै धिरोदात्तवाला कथानक जिम्मेवार छ । पछिल्लो समय निखिल उप्रेति आएर फेरि त्यस्तै कथामा आफूलाई प्रमाणित गर्न संघर्ष गरिरहेका छन्,कति समय टिक्छन् हेर्न बाँकी छ ।

२. प्लट:

माथि पनि भनियो कथ्य शैली हेर्नलाई कुनै पनि फिल्मको कथाको छनोट र त्यो कथालाई भन्ने शैली अर्थात प्लट हेर्न पर्छ । हिजोको दिनमा कुनै पनि कथा भन्ने निश्चित शैली थिए । सिलसिलेवार ढंगमा भन्ने, फ्ल्यासब्याकमा जाने र आवश्यकता अनुसार घटना घटाउने । फिल्ममा साक्षर मात्र दर्शकले पनि फिल्मका सुरुवातका ५÷१० मिनेट हेरेर फिल्मको पुरै कथा भन्न सक्थे । तर,पछिल्लो समयमा बनेको नेपाली फिल्ममा कुनै घघडानले बाहेक कथाको पुरै अनुमान गर्न सक्दैनन् । कथा पुरानै भए पनि परिवेश र प्रस्तुतिमा चतुर्याईँ गरेर निर्देशकले दर्शक खुशी पार्न थालेका छन् । जस्तो फिल्म ‘घामपानी’लाई हेरौं । गहिरिएर हेर्ने हो भने ‘घामपानी’ को कथामा नयाँपन छैन । अन्तरजातीय जोडीको प्रेम, दुई प्रेमीको बीचमा बाधक हुने भिलेन , परिवारको असहमति फिल्मको कथा यस्तै विषयको सेरोफेरोमा बुनिएको छ । नेपाली फिल्ममा दर्शकले सयौं पटक पर्दामा हेरिसकेका थिए । तर, पनि ‘घामपानी’ धेरैको नजरमा विशेष ठहरियो, यसको कारण त्यही पुरानो कथालाई पनि फरक तरिकाले भन्ने शैली । निर्देशक तथा लेखक दीपेन्द्र लामाले चतु¥याईंपूर्वक कथालाई ‘लाउड’ तरिकाले नभनी सहज तरिकाले भने र कथालाई ‘लोकलाइज्ड’ गरिदिए । त्यही कारणले मानिसलाई फिल्म पहिला कतै हेरेजस्तो लागेन । कथ्य शैलीमा आएको परिवर्तनको यो एउटा उपयुक्त उदाहरण हो । यही लिस्टमा ‘कालोपोथी’लाई पनि राख्न सकिन्छ । यसमा पनि कथा र कथा भन्ने शैली नेपाली फिल्मले अभ्यास गरिरहेकोभन्दा बिल्कुलै भिन्न छ । यसैगरि नेपालको प्रतिनिधित्व गर्दै विदेशका विभिन्न फिल्म फेस्टिभलमा जाने फिल्ममा पनि यस्तो विशेषता देख्न सकिन्छ ।

३. गीत र फाइट

नेपाली फिल्मको कथा भन्ने शैलीको कुरा गर्दा गीत र फाइटलाई छुटाउन मिल्दैन । नेपाली फिल्ममा गीतको प्रयोगको कुरा गर्दा यसलाई हिन्दी फिल्मबाट ग्रहण गरिएको मानिन्छ । तर, भारतमा झैं नेपालमा पनि गीत, संगीत र नृत्य सामाजिक जीवनको पाटोको रहेकाले यसलाई नेपाली फिल्मले आत्मसात गर्नु नाजायज हो जस्तो लाग्दैन । तर, नेपाली फिल्मको समस्या चैं आफ्नै शैलीको गीत संगीत हुँदाहुँदै बलिउड शैलीको गीत संगीत हुबहु सार्नमा रह्यो । अहिले पनि धेरै नेपाली फिल्मका गीत बलिउड शैलीबाट प्रभावित छन् भने नृत्य निर्देशन त हाकाहाकी बलिउड वा दक्षिण भारतीय फिल्मका गीतबाट उडाउने गरिएका छन् । तर, पछिल्लो समय, अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको उपस्थितिले नेपाली फिल्मको संगीत मौलिकतातर्फ लम्केको छ । नेपाली फिल्ममा पछिल्लो समय कम हुँदै गएको भनेको फाइट हो । अघिल्लो दसकमा फाइट विनाका फिल्म कल्पना गर्न पनि मुस्किल हुन्थ्यो तर अहिले यस्ता फिल्मको संख्या एकादुईमा झरेको छ । नेपाली फिल्मको आएको यो परिवर्तनलाई पनि नजर अन्दाज गर्न मिल्दैन ।

सामाजिक परिवर्तनलाई कलाले जति चाँडो आत्मसात गर्न सक्यो कला उति जिवन्त हुन्छ । तर, नेपाली फिल्मको समस्या जहिले पनि समाजभन्दा पछि रहनुमा रह्यो । नेपाली फिल्मले समाज बुझ्ने र त्यसलाई फिल्ममा धेरथोर उतार्ने प्रयाससँगै नेपाली फिल्मले गति लिएको छ । आज हामीसँग प्रविधिको कमी छैन, कमी छ त त्यही चेतको जसले कलालाई समाजसँग एकाकार गराउँछ ।