Laxman

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर सामीप्यराज तिमल्सेना मुख्यतः सिनेमा रिपोर्टिङमा रुचि राख्छन् । नागरिक दैनिक र अन्नपूर्ण सम्पूर्णमा इन्टरटेनमेन्ट ब्युरो चिफको रुपमा काम गरेका उनले दर्जन बढी नेपाली सिनेमाको पटकथा लेखेका छन् । ‘कागबेनी’, ‘गोपी’, ‘ड्रिम्स’ ,‘नाइँ नभन्नू ल ४÷५’, ‘ए मेरो हजुर २’ उनले लेखेका केही प्रतिनिधी फिल्म हुन् । पूर्वीय दर्शनमा रुची राख्ने सामीप्य बागबजारस्थित पद्यकन्या क्याम्पसमा समाजशास्त्र ÷मानवशास्त्र विषय अध्यापन गराउँछन् ।

कोरोना कालमा फिल्मको अन्तरंग दृश्य खिच्ने काइदा

२०७७ भदौ ८ गते ६:०२ by सामीप्य

विश्वका २ सय १३ देशलाई गाँजेको कोरोना महामारी तत्काल निर्मुल हुने छाँट छैन । ६ महिनादेखि यसको अन्त्यको प्रतीक्षा गरिरहेको फिल्ममेकर काममा फर्कन अधैर्य छन् । यसमा पनि कतिपय फिल्ममेकर फिल्म खिच्न मैदानमा गइसकेका छन् । तर, सुटिङमा गएर सामाजिक दूरीसहित अरु दृश्य खिच्न जेनतेन सम्भव भएपनि अन्तरंग दृश्य कसरी खिच्ने भन्ने कुराले धेरै निर्माता÷ निर्देशकको दिमाग खाएको छ । तर, बेलायतको फिल्म निर्देशकहरुको संस्थाले भने नयाँ निर्देशिका जारी गर्दै पुराना फिल्म हेर्ने सल्लाह दिएको छ । महामारीको समयमा अन्तरंग दृश्य खिच्ने काइदाका लागि युकेका फिल्ममेकरलाई ‘कासाब्लांका’ र ‘इट ह्यापेन्ड वन नाइट’ जस्ता फिल्म हेर्न सुझाव दिइएको छ ।

विश्वभरका फिल्ममेकर महामारीका बीचनै सुटिङमा निस्कँदा अन्तरंग दृश्य कसरी खिच्ने भन्ने चिन्तामा रहेको बेला युकेले फिल्ममेकिङको पुरानो कोड अनुसरण गर्न पनि सुझाव दिएको छ । सन् १९३४ देखि १९९८ सम्म अमेरिकामा फिल्म खिच्ने र प्रदर्शन गर्ने गाइडलाइनलाई अनौपचारिक रुपमा हेज कोड भनिन्थ्यो । सन् १९२२ देखि १९४५सम्म मोसन पिक्चर एसोसियन अफ अमेरिकाको अध्यक्ष रहेको विल एच हेजको पहलमा यो गाइडलाइन बनेकाले यसलाई हेज कोड भनिन्थ्यो । पछि यही गाइडलाइनलाई रुपान्तरण गर्दै अमेरिकामा फिल्मलाई रेटिङ गर्ने प्रचलन सुरु भएको हो जुन विश्वका धेरै देशले अनुसरण गर्ने गरेका छन् ।

नयाँ निर्देशिका जारी गर्दै डाइरेक्टर्स युकेले भनेको छ , ‘अन्तरंग दृश्य स्वयंभन्दा पनि कहिलेकाहीँ यसको बिल्डअप मात्र पनि रोमाञ्चक हुने गर्छ । भावनात्मक निकटता शारीरिक सम्पर्क भन्दा पनि इंगेजिङ हुन सक्छ । अन्तरंग दृश्यको झल्को दिन लुगा खोलेको, लुगा मिलाएको र ओढ्ने भित्र चलेको वा विकल्पको रुपमा ढोका बन्द गरेको पनि देखाउन सकिने निर्देशिकामा भनिएको छ ।

यदि शारीरिक सम्पर्क गरेकै दृश्य नभइ नहुने हो भने चाहीँ एनिमेसन गर्ने, ग्रिनमा म्याटमा टाढा टाढा राखेर खिच्ने र पछि नजिक भएको देखाउने विकल्प प्रयोग गर्न सुझाएको छ । अन्तरंग दृश्यका लागि कलाकारको रियल जोडी प्रयोग गर्न पनि युकेका निर्देशकलाई आग्रह गरिएको छ । केही समय पहिले युकेमै एउटा सिरिजको सुटिङमा यसरी रियल जोडीले अन्तरंग दृश्य दिएका थिए भने सोही सिरिजमा सेक्स डलको पनि प्रयोग गरिएको थियो ।